“हात्तीलाई घृणा गर्नुहुन्छ? नेपाल आउनुहोस्!” क्रुर चितवन हात्ती महोत्सव आलोचना गर्दै अन्तर्राष्ट्रिय सामाग्रीको प्रारम्भ

चितवन – चितवन हात्ती महोत्सवमा हात्तीमाथि हुने दुर्व्यवहार अन्त्य गर्ने पेटाको अभियानले भर्खरै फेसनको रुप लिएको छ: हात्तीलाई घृणा गर्ने जो कोहीलाई पनि नेपाल आउन आमन्त्रित गर्ने सिधा सन्देशका साथ नयाँ शर्ट अब पेटा स्टोरमा उपलब्ध छ, र चाँडै नै थप सामग्रीहरु पनि आउनेछन्। पेटाबाट जानकारी पाएपश्चात मुख्य प्रायोजकहरुले हात्ती महोत्सवसँग टुटाएको सम्बन्धले देशको प्रतिष्ठामा आघात पुग्दा समेत नेपाल पर्यटन बोर्ड मौन बसिरहेको बेला यो नयाँ सामाग्री सार्वजनिक भएको हो।

महोत्सवमा हात्तीहरुलाई फुटबल “खेलाउन” को निम्ति माहुतेहरुले हात्तीहरुमाथि अंकुश लगायत लठ्ठी र चुच्चो काठको चक्कु जस्ता हतियारहरु प्रयोग गरी पिटेर र घोँचेर आफूले भनेको कुरा मान्न बाध्य गराईन्छ भनेर पेटाको विभिन्न अनुसन्धानहरुले देखाएको छ। पेटाले सम्प्रेषण गरेको विक्षिप्त पार्ने भिडियो फुटेजमा एकजना माहुतेले दर्शकहरुको अगाडि नै एउटा हात्तीलाई कम्तिमा ६४ पटक घोचेको, लात्तीले हानेको र पिटेको देखाएको छ। महोत्सवमा चुच्चो लठ्ठीको प्रयोग गर्दै हात्तीलाई बारम्बार घोच्दिरहँदा एकजना माहुते मुस्कुराउँदै गरेको देखिएको थियो भने अर्को माहुतेले एउटा सानो हात्तीको छावालाई कुहिनोले अनुहारमा हान्दिएको पनि देखिएको थियो। धेरै हात्तीहरुको टाउको र कानहरुमा गहिरो रगताम्य घाऊ भएको थियो। महोत्सवको कुनै गतिविधीमा संलग्न हुन बाध्य नपारिएको समयमा पर्यटकसँग फोटो खिचाउने साधनको रुपमा वा पर्यटकलाई जबर्जस्ती सवारी गराउनको लागि हात्तीहरुको प्रयोग गरिएको थियो।

“हात्तीहरु उनीहरुलाई पिट्ने, बाँध्ने, र जबर्जस्ती अपमानजनक ‘खेल’ खेलाउने क्रुर महोत्सवमा होइन बरु आफ्ना परिवारका सदस्यहरुसँग वनमा रहनुपर्दछ”, पेटाका वरिष्ठ उपाध्यक्ष जेसन बेकर भन्छन्। “महोत्सवले जनावरहरुलाई दुरुपयोग गरुञ्जेल र हात्तीमुक्त नगरुञ्जेलसम्म पर्यटकहरु चितवनबाट टाढा नै बस्नु भन्ने सन्देश प्रवाह गर्नको लागि पेटाको नयाँ सामाग्रीले करुणा मनको व्यक्तिहरुलाई सहयोग पुर्याउनेछ।”

पछिल्लो महोत्सवको पुर्वसन्ध्यामा अभिनेता, चलचित्र निर्माता तथा माननीय पेटा निर्देशक, जोन अब्राहमले नेपालको सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, बद्रि प्रसाद पाण्डेलाई महोत्सवमा पशु माथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आग्रह गर्दै पत्र पठाएका थिए।

पेटाको मूल नाराको एउटा अंशमा “पशुहरु हाम्रा मनोरञ्जनका साधन होइनन्” भनिनुले हरेक पशुहरु कोही व्यक्ति सरह हुन् भन्ने देखाउँछ। थप जानकारीका लागि PETAAsia.com मा जानुहोस् वा X (पूर्व ट्विटर), फेसबुक, वा इन्स्टाग्राममा फलो गर्नुहोस्।